गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

बिपत जोखिम न्यूनीकरण ब्यबस्थापनको लागि अभ्यास (MOCK DRILL) संचालन।


| सामान्य


पर्बत अस्पताल, पर्बतको आयोजनामा राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अबशरमा पर्बत जिल्ला स्थित सुरक्षा निकायको समन्वयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भुकम्प लगायत अन्य बिपत जोखिम न्यूनीकरण ब्यबस्थापनको लागि अभ्यास (MOCK DRILL) संचालन भएको छ विभिन्न सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय, पत्रकार साथीहरूको उपस्तिथिमा अबलोकन भएको उक्त कार्यक्रम सम्पन्न भए पश्चात उपस्थित व्यक्तित्व बीच समिक्षा कार्यक्रम समेत संचालन भएको थियो

मङ्गलबार दिउँसो कुश्मा नगरपालिका-५ बडागाउँमा रहेको पर्वत अस्पतालमा सुरक्षाकर्मीहरूका सवारीले रोइरहेका मानिसहरू बोकेर आइरहेका थिए। सवारीमा राखिएका व्यक्तिहरू ‘ऐया, अमा मरेँ, ‘मलाई बचाऊ" भन्दै रोइरहेका थिए। कुनै घटनामा परेर घाइते भएका जस्ता उनीहरूका शरीरका विभिन्न भागबाट रक्तस्राव भइरहेको जस्तै देखिन्थ्यो। सुरक्षाकर्मीले घाइतेलाई थप पीडा हुन नदिने गरी विस्तारै सवारी चलाएका थिए भने ‘स्ट्रेचरमा राखिएका व्यक्तिहरूलाई पनि शरीरमा लागेको चोटअनुसारको ‘पोस्चरमा मिलाएर राखिएको थियो। सुरक्षाकर्मीले हतार हतार गर्दै पर्वत अस्पतालको आकस्मिक कक्षमा उनीहरूलाई लगे। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू एकाएक शय्यामा घाइतेलाई राख्दै उपचारमा लागे। यो बेलासम्म आकस्मिक कक्षमा अस्पताल आसपासका बासिन्दाको भिड लागिसकेको थियो। आकस्मिक कक्षको ‘गेट नै बन्द गरेर स्वास्थ्यकर्मीहरू औषधिसहित शय्यामा खटिरहेको बेला नागरिकले भने कुनै ठाउँमा सवारी दुर्घटना भएकोले घाइतेहरू ल्याएको भन्दै खस्याकखुसुक गरिरहेका थिए।

घाइतेलाई अस्पतालको शय्यामा राख्ने बेलासम्म त केही स्वास्थ्यकर्मीहरुलाई पनि साँच्चिकै घाइतेहरू नै ल्याए जस्तो लागेको थियो। शय्यामा सारेपछि मात्रै उनीहरू नक्कली भूकम्पका नक्कली घाइतेहरू भएको स्वास्थ्यकर्मीले थाहा पाए।शय्यामा छटपटाइरहेका सादा पोसाकका सुरक्षाकर्मीले गरेको अभिनय साँच्चिकैको घाइतेभन्दा फरक थिएन। अनि अस्पतालका चिकित्सकहरूले गरेको नक्कली उपचार पनि सक्कली उपचारभन्दा फरक थिएन।

सुरक्षा निकायले अस्पतालका केही चिकित्सकलाई मात्रै घाइतेहरूको उद्धारको अभ्यासको लागि आफूहरूले ‘डेमो अभ्यास गर्न लागेको र सोही क्रममा केही सुरक्षाकर्मीहरूलाई घाइतेजस्तै बनाएर अस्पतालमा ल्याउन लागेको जानकारी गराएको थियो। यही कारण पनि अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मीहरुले साँच्चिकैको घटनाका घाइतेहरू ठानेका थिए। मङ्गलबार मनाइँदै गरेको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भ पारेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पर्वत अस्पतालसँग मिलेर यो अभ्यास गरेका हुन्। बडागाउँमा रहेको सशस्त्र प्रहरी बल नं २५ गण हेडक्वार्टरमा भूकम्प जाँदा भौतिक संरचनाहरू कसरी ढल्छन् र त्यसमा मानिस कसरी घाइते हुन्छन् भन्ने देखाइएको थियो। भूकम्प आएको अभिनय गरी रङ र उपचारका विभिन्न सामग्रीहरू प्रयोग गरेर घाइतेजस्तै बनाइएको थियो।

भूकम्पमा घाइते भएकाहरूलाई अस्पतालसम्म कसरी लैजाने र उनीहरूको स्वास्थ्य थप असर हुन नदिन गरी कसरी उद्धार गर्ने भन्ने बारेमा देखाउन नक्कली घाइतेहरूलाई सशस्त्र प्रहरीको गणबाट अस्पतालमा ल्याइएको हो। अभ्यासमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक हेमबहादुर गुरुङले सुरक्षाकर्मीले गरेको अभ्यास साँच्चिकैको घटनाजस्तै भएको र अस्पतालले गरेको ‘रेस्पोन्स पनि राम्रो रहेको बताउनु भएको छ यो अभ्यासले सुरक्षाकर्मीहरूलाई अभ्यस्त बनाउनुका साथै यससँग जोडिएका सरोकारवालाहरूलाई पनि जुनसुकै बेलामा पनि तयारी अवस्थामा रहन सजिलो पार्ने बताउनु भएको छ

उद्धारमा प्रयोग भएका सवारीहरूले साइरन बजाउँदै एकाएक अस्पतालमा छिर्दा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई दुःखको बेलामा सम्हालिएर कसरी काम गर्ने भन्ने सिकाई भएको पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोलाले बताउनु भएको छ।बाढी, पहिरो, भूकम्पलगायतका दैवी प्रकोपको बेलामा धेरै सङ्ख्याका घाइते एकैपटक अस्पतालमा आउन सक्ने र त्यो बेलामा आफूलाई सम्हाल्दै सबैलाई कसरी सेवा दिने भन्ने सिक्नका लागि पनि अभ्यास राम्रो रहेको वहाँको भनाइ छ। (साभार: पर्बत अस्पतालको फेसबुकबाट)

बिपत जोखिम न्यूनीकरण ब्यबस्थापनको लागि अभ्यास (MOCK DRILL) संचालन।

Download: बिपत जोखिम न्यूनीकरण ब्यबस्थापनको लागि अभ्यास (MOCK DRILL) संचालन।