गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

रक्तदानलाई लिएर विश्वभर रहेका १२ भ्रम र सत्य


| सामान्य


विश्वमा प्रत्येक वर्ष एक सय मिलियन युनिट रगत विश्वसनीय स्रोतबाट आउने गर्छ। रगत निश्चित समयका लागि मात्रै भण्डारण गर्न गर्न सकिन्छ। त्यसैले नियमित रक्तदानका लागि आमजनलाई उत्प्रेरित गर्ने गरिन्छ। रक्तदान गर्ने तपाईंको निर्णयले केही व्यक्तिको जीवन जोगिन्छ। 

दान गरिएको रगतबाट रेड सेल्स, प्लेटलेट्स र प्लाज्मा छुट्याइन्छ। प्रत्येक बिरामीलाई विशेष परिस्थितिमा त्यो उपयोगमा आउँछ। स्टाटेन आइल्यान्ड युनिभर्सीटी अस्पताल न्युयोर्कमा इमर्जेन्सी मेडिकल विभागका प्रमुख डा जेम्स एफ केन्नी दान गरिएको रगतले समाजमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्छन्। 

ठूलो दुर्घटना झेलेका बिरामी (जो सर्जरीको पर्खाइमा हुन्छन्), क्यान्सर भएर केमोथेरापी लिइरहेका, बोनम्यारोसँग सम्बन्धित रोग भएकाहरु (जसलाई निरन्तर ब्लड चढाइरहनुपर्छ) र अन्य रोग भएर सर्जरी गरेकाहरु दानबाट प्राप्त गरेकै रगतका कारण जीवनदान पाइरहेका हुन्छन्। 
तर, रगतदानलाई लिएर नेपालमा मात्र नभइ विश्वमै अनेक प्रकारका भ्रमहरु छन्। ती भ्रमहरुलाई लिएर  मेडिकल न्युज टुडेले तयार पारिएको विस्तृत रिपोर्टलाई अनुवाद गरेर स्वास्थ्य खबरबाट साभार गरेर प्रस्तुत गरेका छौं । 

१ रगत दानपछि कमजोर भइन्छ
पहिले स्वस्थ रहेको कुनैपनि व्यक्ति रक्तदानपछि कमजोर हुन्छ भन्ने भ्रम रहेको छ। रक्तदानपछि एक दिनका लागि अन्य दिनभन्दा कम दौडधुप गर्न चिकित्सकहरु सुझाउँछन् र तरल पदार्थको सेवन बढाउन सुझाउँछन्।  तर, यसको अर्थ कमजोर भइहाल्ने भन्ने होइन।  
रक्तदान गरेको ४८ घन्टामा रगतको मात्रा सामान्य अवस्थामा फर्किन्छ। तर, रातो रक्तकोशिका त्यही मात्रामा फर्किन भने ४-८ हप्ता लाग्न सक्छ। 

मेमोरियल केयर ओरेन्ज कोएस्ट मेडिकल सेन्टरका प्याथोलोजिस्ट तथा ब्लड बैंकका निर्देशक डा इम्यानुएल टी फेर्रोका अनुसार रक्तदान एकदमै सुरक्षित हुन्छ। उनी भन्छन्,  'रगत लिनुअघि दाताको सामान्य स्वस्थ जाँच गरेर ऊ त्यसका लागि योग्य भए-नभएको हेरिन्छ। त्यसका लागि सक्षम देखिएमा मात्रै ब्लड झिकिन्छ।' 

केही सामान्य पार्श्व प्रभाव देखिनुलाई सामान्य रुपमा नै लिनुपर्ने  लङ आइल्यान्ड जेविस फरस्ट हिल्स अमेरिकाका मेडिसिन विभाग प्रमुख डा जोन रेइमो बताउँछन्। 

उनी भन्छन्,  'रक्तदानपछि केही थकित महशुस हुन सक्छ। त्यस्ता लक्षणहरु आफैं गएहाल्छन्। त्यस्तो अवस्था केही झोल पदार्थ र सामान्य खानेकुराले सहज बनाउँछन्। यस्तै हातमा सामान्य दुखाइ वा झमझमाएको महशुस गर्नु पनि सामान्य कुरा हो।'

कम उमेरका दुब्लो व्यक्तिले यस्तो महशुस गर्ने गरेको बताउँदै पानीको मात्रा बढाउँदा आफैं हराउने डा केन्नी बताउँछन्। 

२ वृद्धावृद्धा रगत दिन सक्दैनन्

यो सत्य होइन । अमेरिकामा १६ वर्ष भन्दा माथिका र ५० किलो भन्दा बढी तौल भएकाहरुले रक्तदान गर्न सक्छन्। शारीरिक रुपमा भन्दा पनि केही देशको नियमले फरक पार्न सक्छ । जस्तो बेलायतमा रक्तदाताको उमेर १७ पूरा भएर ६६ भन्दा कम उमेरको हुनुपर्छ। तर, एउटा स्वस्थ व्यक्तिले ७० वर्षको उमेरसम्म रक्तदान गर्न सक्छन्। 

३ औषधी सेवन गरिरहेकाहरुले रक्तदान गर्न मिल्दैन

यो चाहिँ अर्धभ्रम हो। त्यस्ता व्यक्ति जसले रगत पातलो बनाउने, एन्टिप्लेटलेट (ब्लड क्लट बन्न नदिने) र केही छाला सम्बन्धी रोगको उपचार गरिरहेकाहरुले रक्तदान गर्न मिल्दैन। 

अन्य अवस्थामा आफ्नो उपचारमा संलग्न चिकित्सकसँग सल्लाह लिएर रक्तदान गर्न सकिन्छ। रक्तदान गर्नुअघि जाँच्ने स्वास्थ्यकर्मीसँग आफूले लिइरहेको औषधीबारे बताउनु भने पर्छ। उनीहरुले अवस्था बुझेर निर्णय लिन्छन्।

४ रक्तदान गर्दा समय धेरै लाग्छ

दर्ता,  सामान्य जाँच र केही प्रक्रियाका कारण समय लाग्न सक्छ। तर, रक्तदानले लिने समय भनेको जम्मा ८ देखि १० मिनेट मात्रै हो। अमेरिकन रेडक्रसका अनुसार पूरै प्रक्रियाले एक घन्टा पनि लिन सक्छ वा १५ मिनेटमै पूरा हुन सक्छ।'

५ रक्तदान गर्दा सरुवा रोगबाट संक्रमित हुने सम्भावना रहन्छ

डा फेर्रो रक्तदान गर्दा कुनै पनि सरुवा रोग सर्ने सम्भावना नरहेको बताउँछन्। उनी भन्छन्,  'हामीले  रक्तदाताको पाखुरामा सुई घोप्‍नुअघि स्टेराइल टेक्निक (सरुवा रोगका जिवाणुको जोखमिबाट दातालाई जोगाउने तरिका) अपनाउँछौं। अहिलेसम्म रक्तदान गर्दा त्यस्ता जिवाणु सरेको सुनिएको छैन। सवै सुई नयाँ प्रयोग हुन्छन्, सुरक्षित तरिका हुन्छ र त्यस्ता सामाग्री एकपटक मात्रै प्रयोग हुन्छन्।'

६. ब्लड चढाउँदा संक्रामक रोग सर्न सम्भावना हुन्छ

ब्लड चढाइएको व्यक्तिमा संक्रामक रोग सर्ने विषयमा समेत भ्रम रहेको छ। डा केन्नी भन्छन्,  'यदि रगत संक्रामक पर्‍यो भने संक्रामक रोग सर्ने सम्भावना रहेछ । तर,  त्यो एकदमै कममा मात्रै रगतबाट भाइरस र ब्याक्टेरिया सरेको पाइन्छ।'
रगत दान गर्ने व्यक्तिको जाँचपछि मात्रै लिइने भएकाले प्रक्रिया सुरक्षित हुन्छ।  १० करोडलाई ब्लड चढाउँदा एकजनालाई हेपाटाइटिस सी सर्ने सम्भावना रहेको बताइन्छ। 

७ रक्तदान पीडादायी हुन्छ

यो अर्धभ्रम हो। सुईले घोप्दा सामान्य दुखाइ हुन सक्छ। तर,  यो सामान्य र निकै कम समयको दुदाइ हो। एकपल्ट सुईले आफ्नो ठाउँ लिएपछि दुख्दैन। रक्तदाताले सहजताका साथ दान गर्ने वातावरण बनाइएको हुन्छ। 

केहीले सुई राख्दा घोचिएको ठाउँमा केही समय पछिसम्म दुखाइ भएको बताउने गरेका छन्। त्यो केही समय वा दिनमा हराइहाल्छ। तर, अहिले सुरक्षित र कम दुखाइ हुने तरिकाले नै रगत लिने गरिएको छ। 

८  वर्षको एकपल्ट मात्रै रक्तदान गर्न मिल्छ
यो सत्य होइन । रक्तदान गरेपछि राता रक्तकोषिका पुरानै अवस्थामा पुग्न ८ हप्तासम्म लाग्न सक्छ । ८ हप्तापछि फेरि दान गर्नु सुरक्षित मानिन्छ। अमेरिकन रेडक्रस सोसाइटीले हरेक ५६ दिनपछि रक्तदान गर्न सुझाएको छ।

९ ट्याटु भएका र विभिन्न ठाउँमा छेदन गरेकाले रक्तदान गर्न हुँदैन
यो लामो समयदेखि जारी रहेको भ्रम हो। तर,  यो हालसम्म पनि भ्रम नै हो। अमेरिकन रेडक्रस सोसाइटी भन्छ,  'यदि सुरक्षित रुपमा ट्याटु बनाएको  हो भने तीनमहिनापछि रक्तदान गर्न सकिन्छ। त्यसैगरी एकपल्ट मात्रै प्रयोग गर्ने सुईबाट छेदन गरिएको हो भनेपनि रक्तदान गर्न कुनै समस्या छैन।'

तीन महिना भने कुर्नुपर्छ। ट्याटु र छेदन गर्ने ठाउँ सुरक्षित नहुँदा उनीहरुले अन्यबाट संक्रामक रोग सारेका हुन सक्छन्। त्यसको नतिजा तीन महिनापछि मात्रै देखिन्छ। 

१० उच्च रक्तचाप भएकाले रक्तदान गर्न मिल्दैन

यो सधैं सत्य होइन।  सिस्टोलिक रक्तचाप १८० मिलिमिटर भन्दा कम र डायलोस्टिक १०० मिलिमिटर भन्दा कम भएकाहरुले रक्तदान गर्न सक्छन्। केही औषधीहरु सेवन गर्दा रक्तदान गर्न नमिल्न सक्छ तर उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु रक्तदानका लागि अयोग्य हुने कुरा सत्य होइन।

११ शाकाहारीले रक्तदान गर्न मिल्दैन

यो अर्को भ्रम हो। डा फेर्रो स्वास्थ्यमा अन्य कुनै समस्या छैन भने शाकाहारी भएकै कारण रक्तदानमा रोकावट नहुने बताउँछन्। 'केही शाकाहारीले आइरनको मात्रा कम उपभोग गरिरहेका हुन्छन्। उनीहरु रक्तअल्पताको सीमारेखामा हुन सक्छन्। त्यस्तालाई रक्तदान गर्न स्वीकृति नदिन सकिन्छ,' उनले भने।

१२ संसारका धेरैले रक्तदान गरिसके

विडम्बना, यो सत्य होइन। रगत सिमित छ, रक्तदाता सिमित छन्। त्यसैंले रगतको आवश्यकता पूरा गर्नु चुनौतीपूर्ण छ । डा रेइमोका अनुसार दान गरिएको रेड ब्लड सेल्स ४२ दिनसम्म प्रयोग हुन्छ। प्लेटलेट्स ब९मा ५ दिन प्रयोग गर्न सकिन्छ। 

त्यसैले रक्तदाताको संख्या बढ्न जरुरी छ।  डा फेर्रो जोड  दिँदै भन्छन्,  'धेरै भन्दा धेरै रक्तदाताको आवश्यकता छ। रक्तदान गर्न योग्यहरुको नियमित दानले मात्रै बिरामीलाई चाहिएको जति रगत पूरा हुन सक्छ।'

डा  केन्नीका अनुसार अमेरिकामा जम्मा एक तिहाइ मान्छे मात्रै रक्तदानका लागि योग्य छन्। जम्मा ३ प्रतिशत दाताले मात्रै नियमित रुपमा दान गर्छन्। कहिलेकाहिँ बिरामीलाई चाहिएको रक्तसमूहसँग उपलब्ध रक्त समूह नमिल्दा पनि समस्या देखिन्छ।'

रक्तदानलाई लिएर विश्वभर रहेका १२ भ्रम र सत्य

Download: रक्तदानलाई लिएर विश्वभर रहेका १२ भ्रम र सत्य